(१) सरकारी सेवाको कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहको पदमा समायोजन गर्ने प्रयोजनको लागि समायोजन गरिने सेवा, समूहको पद तथा तहगत विवरण खुलाई कर्मचारीबाट निवेदन माग गर्ने सूचना मन्त्रालयले प्रकाशन गर्नेछ। (२) प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका अन्य सेवाका कर्मचारीलाई स्थानीय तहको पदमा समायोजन गर्ने प्रयोजनको लागि समायोजन गरिने स्थानीय तह, सेवा, पद तथा तहगत विवरण खुलाई कर्मचारीबाट निवेदन माग गर्ने सूचना मन्त्रालयले प्रकाशन गर्नेछ।
(३) साविकको जिल्ला विकास समितिको सेवामा स्थायी नियुक्ति पाई कर्मचारी समायोजन अध्यादेश, २०७५ प्रारम्भ हुँदाका बखत जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीलाई सम्बन्धित जिल्ला भित्रका स्थानीय तहको पदमा समायोजन गर्ने प्रयोजनको लागि समायोजन गरिने स्थानीय तह, सेवा, पद तथा तहगत विवरण खुलाई कर्मचारीबाट निवेदन माग गर्ने सूचना मन्त्रालयले प्रकाशन गर्नेछ।
(४) उपदफा (१), (२) र (३) बमोजिम निवेदन माग गर्दा समायोजन गरिने सङ्घको सेवा, समूह, उपसमूह, त्यस अन्तर्गतका पदसङ्ख्या तथा श्रेणी वा तह, प्रत्येक प्रदेशको सेवा, समूह, उपसमूह, त्यस अन्तर्गतका पदसङ्ख्या तथा तह, प्रत्येक जिल्लाका स्थानीय तहको सेवा, समूह, त्यस अन्तर्गतका पदसङ्ख्या तथा तह समेत खुलाईएको विवरण मन्त्रालयको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ।
(५) सरकारी सेवाका कर्मचारीले उपदफा (१) बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफू समायोजन हुन चाहेको सङ्घ, प्रदेश र स्थानीय तहको प्राथमिकताक्रम खुलाई सेवा सञ्चालन गर्ने निकायमा निवेदन दिनु पर्नेछ।
(६) प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका अन्य सेवाका कर्मचारीले उपदफा (२) बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफू समायोजन हुन चाहेको स्थानीय तहको प्राथमिकताक्रम खुलाई मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(७) साविकको जिल्ला विकास समितिको सेवामा स्थायी नियुक्ति पाई कर्मचारी समायोजन अध्यादेश, २०७५ प्रारम्भ हुँदाका बखत जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीले उपदफा (३) बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफू समायोजन हुन चाहेको स्थानीय तहको प्राथमिकताक्रम खुलाई मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(८) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि साविकको स्थानीय निकायबाट स्थायी नियुक्ति पाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समायोजन भएका कर्मचारीले यस दफा बमोजिम निवेदन दिनु पर्ने छैन।
(९) उपदफा (५), (६) र (७) बमोजिम निवेदन दिँदा सङ्घ र प्रदेशको सेवाको हकमा आफू कार्यरत पदसँग सम्बन्धित सेवा, समूह वा उपसमूह र स्थानीय तहको सेवाको हकमा आफू कार्यरत पदसँग सम्बन्धित सेवा, समूहमा समायोजनको लागि निवेदन दिनु पर्नेछ।
(१०) उपदफा (५), (६) र (७) बमोजिम प्राप्त निवेदनको आधारमा सम्बन्धित मन्त्रालयले यस दफा बमोजिम समायोजन हुने कर्मचारीको विवरण तयार गर्नेछ।
(११) यस दफा बमोजिम दिनुपर्ने निवेदनको ढाँचा, प्रक्रिया र निवेदनमा खुलाउनु पर्ने कुरा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ।
(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम निवेदन नदिएको वा निवेदनमा खुलाउनु पर्ने विवरण नखुलाएको कारणले मात्र कुनै पनि कर्मचारीलाई समायोजन गर्न बाधा पर्ने छैन।